सुर्खेत, फागुन २८ — सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ।
प्रहरीका अनुसार शव परीक्षणको प्रारम्भिक प्रतिवेदनले जबरजस्ती करणीपछि अत्यधिक रक्तस्राव हुँदा उनको ज्यान गएको संकेत गरेको छ। सामूहिक बलात्कार भएको हो वा होइन भन्ने विषयमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गुर्भाकोट नगरपालिका–६ बडाखोलीकी इनिशा अध्ययनका लागि वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। उनी फागुन २३ गते वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन्।
उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिए पनि अस्पताल पुगेको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि मृतकका आफन्त तथा स्थानीयले बलात्कारपछि हत्या भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शनसमेत गरेका छन्। हालसम्म परिवारले शव पनि बुझेका छैनन्।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरू सबै १८ वर्षभन्दा कम उमेरका रहेको बताइएको छ।
फरेन्सिक परीक्षण र प्राविधिक अनुसन्धान
प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान लगभग पूरा भइसकेको छ। पीडित तथा पक्राउ परेका व्यक्तिहरूका मोबाइल फोन लगायत विद्युतीय सामग्री डिजिटल फरेन्सिक परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।
त्यसैगरी टक्सिकोलोजिकल तथा बायोसेरोलोजिकल परीक्षणका लागि नमुनाहरू पनि प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ। ती सबै प्रतिवेदन प्राप्त भएपछि पोस्टमार्टम रिपोर्टसँग तुलना गरी घटनाको अन्तिम निष्कर्ष निकालिने बताइएको छ।
अनुसन्धानलाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतले छुट्टै अनुसन्धान टोली गठन गरेको छ। साथै, केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी) बाट प्राविधिक निर्देशनसहितको टोली पनि सुर्खेत पुगेर अनुसन्धानमा सहयोग गरिरहेको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ परीक्षण र घटनास्थल विश्लेषण गर्ने प्राविधिक टोलीसमेत परिचालन गरिएको छ। प्रहरीले घटनाको निष्पक्ष अनुसन्धानका लागि विभिन्न प्राविधिक परीक्षण र विशेषज्ञ टोली खटाइएको जनाएको छ।

