आर्मीलाई हराउँदै एपीएफ लिगको शीर्षस्थानमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन २९ — राष्ट्रिय लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा एपीएफले महत्वपूर्ण जित निकाल्दै प्रतियोगितामा अपराजित यात्रा कायम राखेको हो। यो जितसँगै एपीएफले १० खेलबाट २४ अंक जोडेको छ। समान खेल खेलेको आर्मी भने २० अंकसहित चौथो स्थानमा झरेको छ।

दिनको अर्को खेलमा संकटाले श्री भगवती क्लबलाई १–० ले हराएको छ। संकटाका लागि मिडफिल्डर कृष्णबहादुर आलेले निर्णायक गोल गरेका थिए। जितपछि संकटाले १० खेलमा १३ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ। श्री भगवती क्लब भने ८ अंकसहित १३औँ स्थानमा रहेको छ।

यसैगरी अर्को खेलमा चर्च ब्वाइज युनाइटेडले काँक्रे बिहार क्लबलाई २–१ ले पराजित गरेको छ। चर्च ब्वाइजका लागि दुवै गोल रिचर्ड विल्सनले गरेका थिए भने काँक्रे बिहारका लागि सुदेन विक्रम विश्वकर्माले एक गोल फर्काएका थिए।

यो जितसँगै चर्च ब्वाइज ९ खेलबाट २२ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ। काँक्रे बिहार भने समान खेलमा मात्र १ अंकसहित पुछारतिर रहेको छ।

आज लिगमा थप तीन खेल हुनेछन्। पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेड र चित्लाङ क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लब आमनेसामने हुनेछन्। अन्तिम खेलमा लालिगुराँस एसोसिएसन र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुने तालिका छ।

Leave a Comment