जेनजी आन्दोलनको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक हुने सरकारको भनाइ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चैत १, २०८२-काठमाडौं । सरकारले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत जानकारी सोमबार सार्वजनिक गरिने जनाएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय भएको र यसको विस्तृत विवरण भोलि आउने बताए।

उनका अनुसार मन्त्रिपरिषद्ले हाल प्रतिवेदन ग्रहण गर्ने निर्णय मात्र गरेको हो। प्रतिवेदनका विषयवस्तु र त्यससँग सम्बन्धित अन्य विवरण भने अध्ययनपछि सार्वजनिक गरिने जनाइएको छ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन आइतबार मन्त्रिपरिषद्मा छलफलका लागि पेश गरिएको थियो। तर उक्त प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन।

उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलगायतमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको चर्चा भइरहेको छ। प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने माग पनि विभिन्न पक्षबाट उठ्दै आएको छ।

Leave a Comment