आगामी निर्वाचनबारे प्रधानमन्त्री कार्कीले दर्ता भएका दलसँग आज संयुक्त छलफल गर्ने

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, मंसिर ३ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तयारीका विषयमा निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलका नेताहरूसँग आज संयुक्त छलफल गर्ने भएकी छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजेका लागि दलका शीर्ष नेताहरूलाई निमन्त्रणा पठाइएको उनका सचिवालयले जनाएको छ। आगामी फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि दल–दर्ता प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्री कार्कीले दलहरूको सहभागिता र निर्वाचन व्यवस्थापनबारे व्यापक संवाद गर्न लागेको बुझिएको छ।

यसअघि कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेर चुनावी तयारीबारे कुराकानी गरिसकेकी थिइन्। त्यसपछि उनले जेनजी समूहका युवा प्रतिनिधिहरूसँग पनि विशेष छलफल गरी उनीहरूको माग र अपेक्षा सुनेकी थिइन्।

आज हुने संयुक्त बैठकलाई सरकारले आगामी निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चित गर्ने तथा प्रक्रियालाई पारदर्शी र समावेशी बनाउने प्रयासको रूपमा लिएको छ।

Leave a comment