इनिशा विक हत्याकाण्डविरुद्ध माइतीघरमा पुनः प्रदर्शन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२ चैत,काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय दिलाउन माग गर्दै राजधानीमा फेरि प्रदर्शन गरिएको छ।

सोमबार काठमाडौंको माइतीघर मण्डलामा दलित जेनजी अलाइन्सको आयोजनामा विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले इनिशालाई न्याय दिन र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनमा विद्यालय ड्रेसमै आएका विद्यार्थीहरू पनि सहभागी भएका थिए। उनीहरूले ‘इनिशा विकलाई न्याय दे’, ‘बलात्कारीलाई कडा कारबाही गर’, ‘जातीय विभेद अन्त्य गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी इनिशाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। घटनापछि प्रहरीले संलग्न आशंकित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनाबारे थप प्रमाणका लागि फरेन्सिक रिपोर्टको प्रतिक्षा भइरहेको छ। अनुसन्धानको नतिजा आएपछि थप तथ्य सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Leave a Comment