२५ चैत २०८२, बुधबार-काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि उनीहरू नेपालबाहिर रहेकाले पक्राउ गर्न सकिएको छैन ।
हाल देउवा दम्पती विदेशमा रहेका छन् । २१ फागुनको चुनावअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका उनीहरू त्यहाँबाट हङकङ गएको समाचार पनि सार्वजनिक भएको थियो ।
यसअघि जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । बुढानीलकण्ठस्थित घरमा आगजनी हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का उठाएको थियो ।
विभागको पत्राचारपछि अहिले उक्त प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अघि बढाएको छ ।

