शपथपछि सरकार गठन प्रक्रिया अघि बढ्ने, बहुमत दलबाट प्रधानमन्त्री नियुक्ति हुने
६ चैत, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते दिउँसो २ बजे हुने तय भएको छ। संघीय संसद् सचिवालयले दलहरूसँगको छलफलपछि शपथको मिति र समय निर्धारण गरेको हो।
सचिवालयका अनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन्। त्यसपछि ज्येष्ठ सदस्यले बाँकी २७४ सांसदलाई शपथ गराउने कार्यक्रम छ। ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालयमा शपथ लिएपछि सिंहदरबारमा अन्य सदस्यहरूको शपथ गराइनेछ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले अब संसद् अधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढेको छ। संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले ३० दिनभित्र अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
यसैक्रममा चैत १६ गतेबाट प्रतिनिधिसभाको अधिवेशन सुरु गर्ने तयारी गरिएको छ।
शपथ ग्रहणसँगै नयाँ सरकार गठन प्रक्रिया पनि अघि बढ्नेछ। संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ।
हालको निर्वाचनमा बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गरी सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेको छ।

