२ चैत २०८२, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० जना सांसदको नाम सार्वजनिक गरेपछि अब नयाँ प्रतिनिधिसभाको संरचना लगभग निश्चित भएको छ। आयोगले बुधबार उनीहरूलाई प्रमाणपत्र वितरण गर्ने र त्यसपछि राष्ट्रपतिसमक्ष निर्वाचन सम्पन्न भएको प्रतिवेदन पेश गर्ने तयारी गरेको छ।
यसपटकको प्रतिनिधिसभामा उल्लेखनीय पुस्तान्तरण देखिएको छ। करिब साढे दुई सयभन्दा बढी सांसद पहिलोपटक संसद् प्रवेश गर्दैछन् भने करिब २० जना मात्रै अघिल्लो कार्यकालका दोहोरिएका अनुहार रहेका छन्।
रास्वपाको लगभग दुईतिहाइ उपस्थिति
यस निर्वाचनले संसद्को राजनीतिक समीकरणमा ठूलो परिवर्तन ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेको छ। दुईतिहाइ बहुमतका लागि आवश्यक संख्याभन्दा उसलाई मात्र दुई सिट कम परेको छ।
कांग्रेस प्रमुख विपक्षी
३८ सिट सहित नेपाली कांग्रेस प्रतिनिधिसभाको प्रमुख विपक्षी दल बनेको छ। संसदीय दलको नेता स्वतः प्रमुख विपक्षी दलको नेता बन्नेछन् र संवैधानिक परिषद्मा सदस्यका रूपमा सहभागी हुने अधिकार पाउनेछन्।
अन्य दलहरूमा एमालेले २५, नेकपाले १७, श्रम संस्कृति पार्टीले ७ र राप्रपाले ५ सिट प्राप्त गरेका छन्। म्याग्दीबाट महावीर पुन स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका छन्।
युवा सांसदको उल्लेख्य उपस्थिति
नयाँ प्रतिनिधिसभामा युवा सांसदको संख्या उल्लेखनीय देखिएको छ। ४० वर्षमुनिका ९४ जना सांसद रहेका छन् भने ३० वर्षभन्दा कम उमेरका १९ जना सांसद छन्। समग्र प्रतिनिधिसभाको औसत उमेर ४५ वर्ष ४ महिना रहेको छ।
६० वर्षभन्दा माथिका सांसदको संख्या भने ३० मात्र रहेको छ। नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित ७८ वर्षीय अर्जुननरसिंह केसी सबैभन्दा जेष्ठ सदस्य भएकाले प्रतिनिधिसभाको पहिलो बैठक उनीकै अध्यक्षतामा सञ्चालन हुने भएको छ।
नयाँ दलमा युवा, पुराना दलमा पाका नेता
निर्वाचन आयोगको विवरणअनुसार युवा सांसदहरूको ठूलो हिस्सा रास्वपाबाट निर्वाचित भएका छन्। पुराना दलहरू कांग्रेस, एमाले र नेकपाबाट भने तुलनात्मक रूपमा पाका उमेरका नेताहरू निर्वाचित भएका छन्।
यस चुनावले २०४६ सालपछि लामो समयदेखि सक्रिय धेरै पुराना नेताहरूलाई संसद्बाट बाहिर पठाउँदै नयाँ पुस्तालाई राष्ट्रिय राजनीतिमा प्रवेश गराएको विश्लेषण गरिएको छ।
फोटो-Ai

