सोमबार, १ मंसिर २०८२
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमै पाँच विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौंका ओपनर वेन चार्ल्सवर्थ ले उत्कृष्ट प्रदर्शन गर्दै २३ बलमा पाँच चौका र तीन छक्कासहित ४६ रन बनाए। उनी जान निकोल लफ्टी–इटोनको बलमा कट एन्ड बोल्ड आउट भए।
भीम सार्की ३ रनमै विकेटकिपर लाहिरु मिलान्थाबाट क्याच आउट भएपछि पेभेलियन फर्किए। आकाश त्रिपाठी ले ४५ बलमा पाँच चौकासहित ३९ रन जोड्दै इनिङ्स स्थिर बनाए, तर उनी सञ्जय कृष्णमूर्तीको बलमा बोल्ड भए।
मिलिन्द कुमारले १९ रन जोड्दा जोन सिम्पसन १३ रनमा एलबीडब्लु आउट भए। मोहम्मद आदिल आलम (८ रन) र जेरहार्ड इरसमस (१ रन) अविजित रहे।
जनकपुरका लागि ललित राजवंशी, जान निकोल लफ्टी–इटोन, सञ्जय कृष्णमूर्ती, अनिल साह र किशोर महतोले एक–एक विकेट लिए।
जनकपुरको इनिङ्स: आशिफ शेखको अर्धशतक
पहिले ब्याटिङ गरेका जनकपुर बोल्ट्सले ६ विकेटको क्षतिमा १३१ रन बनाए।
प्रारम्भिक ब्याटर आशिफ शेख ले ४१ बलमा ६ चौका र एक छक्कासहित ५४ रनको योगदान दिए। उनी शाहब आलमको बलमा आउट भए।
मयन यादव २९ बलमा ३४ रन बनाउँदै अविजित रहे भने रुपेश सिंह ७ रनमा नटआउट रहे।
लाहिरु समरकुन २२ रन बनाएपछि करण केसीको बलमा आदिल आलमका हातबाट क्याच आउट भए।
लाहिरु मिलान्था ७ रनमा क्याच आउट भए भने कप्तान अनिल साह शून्यमै पभेलियन फर्किए। लफ्टी–इटोन (२ रन) र सञ्जय कृष्णमूर्ती (२ रन) पनि लामो समय टिक्न सकेनन्।
प्लेयर अफ द म्याच: मिलिन्द कुमार
काठमाडौंका मिलिन्द कुमार ले उत्कृष्ट प्रदर्शन गर्दै उद्घाटन खेलको ‘प्लेयर अफ द म्याच’ बने।
उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ३ विकेट लिए र ब्याटिङमा २२ बलमा १९ रन जोडे।
उद्घाटन तथा दर्शक उपस्थिती
सोमबार अपराह्न एनपीएलको औपचारिक उद्घाटन प्रधानमन्त्री सुशीला कार्की ले गरेकी थिइन्। उद्घाटनअघि हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो।
नेपाल क्रिकेट संघका अनुसार उद्घाटन खेलमा ९ हजार ५ सय दर्शक उपस्थित थिए।
भोलि दुई खेल
मंसिर २ गते (मंगलबार) दुई खेल हुनेछन्–
पहिलो खेल : बिहान ११:४५ बजे – चितवन राइनोज vs कर्णाली याक्स
दोस्रो खेल : अपराह्न ४ बजे – विराटनगर किंग्स vs पोखरा एभेन्जर्स



Leave a Reply