आज पश्चिम नेपालमा आँधी–हावाहुरी र वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

६ चैत, काठमाडौं । आज (शुक्रबार) दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना रहेको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा यसको प्रभाव बढी पर्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

दिउँसोपछि कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिइएको छ।

लुम्बिनी प्रदेशका दाङ, नेपालगञ्ज आसपासका क्षेत्र तथा शनिबार कोशी प्रदेशका विराटनगर, धरान र धनकुटा आसपास तीव्र हावाहुरी चल्ने सम्भावना छ। हावाहुरीको वेग करिब ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

हावाहुरीका कारण रुख ढल्ने, घरका छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको भन्दै अनावश्यक बाहिर ननिस्किन, सुरक्षित स्थानमा बस्न र जोखिमयुक्त संरचनाबाट टाढा रहन अनुरोध गरिएको छ।

पछिल्ला दिनमा हावाहुरीका कारण मानवीय क्षति समेत भएको उल्लेख गर्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

Leave a Comment