बारा, असोज २४ — टिकटक भिडियो खिच्ने क्रममा खोलामा हाम फालेर बेपत्ता भएका बाराका एक युवक मृत फेला परेका छन्।
प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाईँको शव हाम फालेको छ दिनपछि गण्डकतर्फको बङ्गरी पुल नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
प्रहरीका अनुसार, असोज १९ गते आइतबार बिहान करिब ८ः३० बजे गोसाईँले दुधौरा खोलाको पुलबाट टिकटक भिडियो बनाउने क्रममा हाम फालेका थिए। उनीसँगै हाम फालेका २० वर्षीय अनुराग केशरवानी पौडी खेलेर नदी किनारमा आइपुगेका थिए भने गोसाईँ खोलाको तीव्र बहावमा बग्दै बेपत्ता भएका थिए।
उनको खोजतलासका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको ४३ जनाको टोली परिचालित गरिएको थियो।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार, नेपाली सेनाका लप्टन नीरज राई, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजङ्ग थापा, र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको नेतृत्वमा खोजकार्य गरिएको हो।
यस्तै, सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा मोटरबोट र गोताखोरको सहयोगमा दुधौरा खोलाको करिब एक किलोमिटर क्षेत्रमा खोजी सञ्चालन गरिएको थियो।
खोजी कार्य फेटा गाउँपालिका–१ त्रिवेणीको झुलेङ्गे पुलदेखि फेटा–२ चिलझपटीसम्म फैलाइएको थियो। अन्ततः असोज २४ गते बिहान गोसाईँको शव गण्डकतर्फको बङ्गरी पुल नजिक फेला परेको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए।
स्थानीयवासीका अनुसार, सो दिनको अविरल वर्षाका कारण खोलाको पानी बढेको र तीव्र बहाव हुँदा गोसाईँको मृत्यु भएको अनुमान गरिएको छ।



Leave a Reply