वर्षा, बाढी र हिमपातको असर : बीपी राजमार्ग अवरुद्ध, ढोरपाटनमा जनजीवन प्रभावित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं/बागलुङ, ७ चैत — देशभर जारी वर्षा र खराब मौसमका कारण एकातिर काभ्रेको बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने अर्कोतर्फ बागलुङको ढोरपाटनसहित उच्च पहाडी क्षेत्रमा भारी हिमपातले जनजीवन प्रभावित बनेको छ।

बीपी राजमार्ग पूर्ण अवरुद्ध

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान करिब साढे ३ बजेदेखि बीपी राजमार्ग अवरुद्ध भएको हो।
शुक्रबारदेखि परेको वर्षापछि आएको बाढी र पहिरोले रोशी गाउँपालिका अन्तर्गत चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुंगालगायत क्षेत्रमा सडक अवरुद्ध बनाएको छ।

रोशी खोलामा आएको बाढीले डाइभर्सनसमेत बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
हाल सडक खुलाउने प्रयास भइरहेको भए पनि सयौँ सवारी साधन बाटोमै रोकिएका छन्।

प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

ढोरपाटनमा भारी हिमपात

यता, बागलुङको ढोरपाटन क्षेत्रसहित उच्च पहाडी भूभागमा शुक्रबारदेखि भारी हिमपात भएको छ।
हिमपातका कारण ढोरपाटन उपत्यका पूर्ण रूपमा हिउँले ढाकिएको छ।

स्थानीयका अनुसार हिमपातले दैनिक जीवन कष्टकर बनेको छ।
वस्तुभाउलाई घाँस दाना खुवाउन र बाहिर हिँडडुल गर्नसमेत समस्या भएको छ।

चैत महिनामा यसरी भारी हिमपात हुनु असामान्य भएको स्थानीयहरूले बताएका छन्।
विशेषगरी आलु रोप्ने समयमा परेको हिमपातले कृषिकार्यमा समेत असर पुर्‍याएको छ।

मौसमको असर देशभर

पछिल्ला दिनदेखि सक्रिय वर्षा प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा वर्षा, बाढी, पहिरो र हिमपातको प्रभाव देखिएको छ।
यसले यातायात, कृषि र दैनिक जनजीवनमा व्यापक असर पारिरहेको छ।

Leave a Comment