काठमाडौं, चैत ८, २०८२ — देशका विभिन्न भागमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मौसम बदली भई वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसको असरले कोशी, मधेस र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली देखिएको छ भने तराईका अधिकांश भूभागमा आंशिक बदली रहेको छ।
हाल कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका उच्च भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ।
आज दिउँसो देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी र हिमाली भूभागका केही स्थानमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।
रातिको समयमा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहने जनाइएको छ।
यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा राति पनि एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

