रवि लामिछाने थुनामुक्त हुने आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

३ पुस, काठमाडौं । उच्च अदालत, बुटवलले रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएपछि नख्खु कारागारबाहिर उनका समर्थकहरूको उल्लेख्य भिड लागेको छ। बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई तीनवटा शर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो।

अदालतको आदेश सार्वजनिक भएलगत्तै नख्खु कारागार परिसरमा समर्थकहरू जम्मा हुन थालेका छन्। यद्यपि, लामिछाने तत्कालै रिहा हुने अवस्था भने छैन। जिल्ला अदालत रुपन्देहीका एक अधिकृतका अनुसार उच्च अदालतको आदेश जिल्ला अदालतमा औपचारिक रूपमा पुग्नुपर्ने भएकाले आवश्यक प्रक्रिया पूरा भएपछि मात्र थुनामुक्ति सम्भव हुनेछ। कार्यालय समय सकिएकाले उक्त प्रक्रिया शुक्रबार अघि बढ्ने बताइएको छ।

उच्च अदालतले लामिछानेलाई थुनामुक्त गर्न तीन शर्त तोकेको छ। पहिलो, व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्व जानकारी दिई अनुमति लिनुपर्नेछ। दोस्रो, अन्तिम फैसलाका क्रममा थप बिगो वा जरिवाना तिर्नुपर्ने ठहर भए त्यसलाई तिर्न तयार रहेको कागज गर्नुपर्नेछ। तेस्रो, जिल्ला अदालतले तोकेको धरौटी तथा सम्भावित बिगोको दामासाही रकम बैंक ग्यारेन्टीमार्फत बुझाउनुपर्ने शर्त राखिएको छ।

तर, लामिछानेले यसअघि नै उक्त बैंक ग्यारेन्टी पेश गरिसकेकाले अब जिल्ला अदालतले त्यसको रुजु गरी थुनामुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ। सबै कानुनी प्रक्रिया पूरा भएपछि मात्र उनी कारागारबाट रिहा हुनेछन्।

अदालतको आदेशसँगै राजनीतिक र सार्वजनिक चासो बढेको छ भने समर्थकहरू लामिछानेको रिहाइको प्रतीक्षामा नख्खु कारागारबाहिर उपस्थित छन्।

Leave a Comment