सिरहा गोलीकाण्ड: दुई महिना बित्दा पनि हत्यारा पत्ता लागेन, परिवार न्यायको पर्खाइमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

सिरहा गोलीकाण्ड: दुई महिना बित्दा पनि हत्यारा पत्ता लागेन, परिवार न्यायको पर्खाइम

सिरहा, चैत ९ — सिरहामा प्रेमनाथ यादवको गोली हानी हत्या भएको झण्डै दुई महिना बितिसक्दा पनि घटनामा संलग्न दोषी पक्राउ नपर्दा पीडित परिवार अझै न्यायको पर्खाइमा रहेको छ।

माघ १६ गते सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा खेत जोतिरहेका बेला अन्दाजी ४५ वर्षीय यादवमाथि गोली प्रहार गरी हत्या गरिएको थियो। घटना भएको ५२ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पहिचान गर्न सकेको छैन।

मृतकका भाइ अभयनाथ यादवका अनुसार घटनास्थलमा रहेका रामबिलास यादव र रामप्रसाद महरालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरे पनि २३ दिनपछि उनीहरू रिहा भएका थिए। तर, अनुसन्धानमा ठोस उपलब्धि नदेखिएको भन्दै परिवारले असन्तुष्टि जनाएको छ।

‘प्रहरीले अनुसन्धान भइरहेको भन्छ, तर अहिलेसम्म नतिजा देखिएको छैन,’ अभयनाथले भने, ‘हत्यारालाई कारबाही गरेर न्याय दिलाउनुपर्छ।’

मृतक यादवका दुई छोरा छन्, जसको उमेर १७ र १४ वर्ष छ। बुवाको निधनपछि उनीहरूको भविष्य अन्योलमा परेको छ। कक्षा १० मा अध्ययनरत जेठो छोरा रामजन्मले भने, ‘हामीलाई हुर्काउने आधार बुवा नै हुनुहुन्थ्यो, अब के हुन्छ भन्ने चिन्ता छ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले घटनाको अनुसन्धान जारी रहेको बताएका छन्। उनका अनुसार हालसम्म १४ जनालाई अनुसन्धानको दायरामा ल्याएर सोधपुछ गरिएको छ।

प्रारम्भिक चरणमा नियन्त्रणमा लिइएका प्रत्यक्षदर्शीहरूले सुरुवातमा केही खुलाउन नमाने पनि पछि महत्वपूर्ण सूचना दिएको प्रहरीको दाबी छ। ती व्यक्तिहरूलाई हाल साधारण तारिखमा छाडिएको र निगरानीमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग समन्वय गरेर अनुसन्धान अघि बढाइरहेको जनाएको छ। तर, घटनामा संलग्न को हो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

एसपी पाठकले अनुसन्धानमा ढिलाइ हुन सक्ने भए पनि अन्ततः दोषी पत्ता लाग्ने दाबी गर्दै पीडित परिवारलाई धैर्य गर्न आग्रह गरेका छन्।

Leave a Comment