काठमाडौं, वैशाख १४ — माध्यमिक तहअन्तर्गत कक्षा १२ को अन्तिम परीक्षा आज (सोमबार)देखि देशभर सुरु भएको छ। नेशनल एग्जामिनेशन बोर्ड (एनईबी) द्वारा सञ्चालन भइरहेको परीक्षामा यस वर्ष ४ लाख १८ हजार ८ सय विद्यार्थी सहभागी भएका छन्।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिक (ग्रेड सुधार) तर्फ ८५ हजार ८ सय ३० विद्यार्थी परीक्षामा सहभागी छन्। २०७९ यताका विद्यार्थीलाई आंशिक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।
देशभर १ हजार ४२१ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ। साथै, जापानस्थित एभरेस्ट स्कुल जापानका ३६ जना विद्यार्थीले पनि परीक्षा दिइरहेका छन्। परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ।
गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थीको संख्या उल्लेख्य रूपमा घटेको छ। गत वर्ष ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए भने यस वर्ष ९२ हजार ७२५ ले कमी आएको छ।
बोर्डका अनुसार पछिल्ला वर्षहरूमा नतिजामा सुधार देखिनु र आंशिक परीक्षार्थीको संख्या घट्नु नै यस वर्ष विद्यार्थी संख्या घट्नुको मुख्य कारण हो। गत वर्ष कक्षा १२ मा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
आजदेखि कक्षा १२ परीक्षा सुरु, परीक्षार्थी संख्या घट्यो
Leave a Comment
Leave a Comment

