२६ असार,बारा : बाराको कलैयामा सार्वजनिक यातायातका साधनहरू बिहीबारदेखि अनिश्चितकालका लागि बन्द भएका छन्। विभिन्न मागहरू राख्दै बस, म्याजिक भ्यान, र ईभी (इलेक्ट्रिक भेहिकल) लगायतका यातायात व्यवसायी संघहरूले एकसाथ यातायात ठप्प पारेका हुन्।
यस बन्दका कारण कलैया र आसपासका क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण मर्कामा परेका छन्।
आन्दोलन समितिका अध्यक्ष रामजी प्रसाद पटेलका अनुसार, व्यवस्थित पार्किङको अभाव, लाइसेन्स, रुट परमिट र अनुमतिबिना सवारी साधन सञ्चालन, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, बढ्दो दुर्घटना र सडकमा जथाभावी सवारी चलाउने जस्ता समस्याहरूले गर्दा आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्।
उनले विशेष गरी अटो-रिक्साहरूले नियम मिचेर चलाउँदा समस्या भएको र बसलाई साइड नदिने गुनासो पनि गरे।
“अटोहरूले स्थानीय तहबाट अनुमति लिएका छन् भने पालिकाभित्र मात्र चलाउनुपर्यो। तर, उनीहरूले नियम उल्लंघन गरेर चलाउँछन् र प्रशासनले देखेको नदेखेझैं गर्छ,” पटेलले भने।
उनले दुर्घटना न्यूनीकरणका लागि क्षमताअनुसार मात्र यात्रु बोक्न पनि आग्रह गरे।
म्याजिक संघका अध्यक्ष धर्मेन्द्र उपाध्यायले प्रशासनले गाडी व्यवस्थित गर्न आदेश दिएको दुई दिन मात्रै पालना हुने र त्यसपछि फेरि पुरानै अवस्थामा फर्किने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।



Leave a Reply