कलैयामा विश्व क्षयरोग दिवस भव्य रूपमा मनाइयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१० चैत,बारा, कलैया — मंगलबार विश्व क्षयरोग दिवसको अवसरमा कलैयामा विभिन्न जनचेतनामूलक कार्यक्रमसहित भव्य रूपमा दिवस मनाइएको छ। स्वास्थ्य कार्यालय बारा र बागमती सेवा समाज नेपाल, सर्लाहीको संयुक्त आयोजनामा प्रभातफेरी निकाल्दै कार्यक्रम गरिएको हो।

स्वास्थ्य कार्यालय कलैयाबाट सुरु भएको प्रभातफेरी “क्षयरोग अन्त्य गरौं, राष्ट्रिय अभियानमा हाम्रो योगदान”, “दुई हप्ताभन्दा बढी खोकी लागे जाँच गरौं”, “क्षयरोग लुकाउनु हुँदैन, औषधि खाए निको हुन्छ” जस्ता सन्देशसहित अस्पताल रोड हुँदै भरत चोकसम्म पुगेको थियो। त्यसपछि पुनः स्वास्थ्य कार्यालयमै पुगेर प्रभातफेरी सम्पन्न गरिएको थियो।

प्रभातफेरीपछि आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय बाराका प्रमुख चेतनारायण पण्डितले क्षयरोग पूर्ण रूपमा निको हुने रोग भएको उल्लेख गर्दै डराउन नहुने बताए। उनले चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गरेमा क्षयरोग सहजै निको हुने जानकारी दिए।

त्यसैगरी बागमती सेवा समाज नेपालका जिल्ला क्षयरोग कार्यक्रम संयोजक बिहारी प्रसाद कुशवाहाले क्षयरोगका लक्षणबारे जानकारी गराउँदै दुई हप्ताभन्दा बढी खोकी लाग्ने, ज्वरो आउने, तौल घट्ने, भोक नलाग्ने तथा बेलुकी पसिना आउनेजस्ता संकेत देखिएमा तुरुन्त परीक्षण गराउन आग्रह गरे।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाराका क्षयरोग फोकल पर्सन भागिरथ चौधरी, ल्याब प्रमुख रामविश्वास साह, प्रादेशिक अस्पताल कलैयाका प्रमुख अजय कुमार गुप्ता, बागमती सेवा समाज नेपालका धिरेन्द्र तिवारी, मनोज यादव, पनिलाल पासवान, प्रेमचन्द्र जयसवार, प्रदीप चौरसिया, अमिसा जयसवाल लगायतको सहभागिता रहेको थियो।

विश्व क्षयरोग दिवस हरेक वर्ष मार्च २४ मा मनाइँदै आइएको छ।

Leave a Comment