पश्चिमी वायुको प्रभाव बढ्यो, विभिन्न स्थानमा वर्षा र चट्याङको सम्भावना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत ११ —देशभर अहिले पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव देखिँदा मौसममा परिवर्तन आएको छ। धेरैजसो पहाडी र हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीसँगै मौसम सामान्यतया खुला रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। उच्च हिमाली भेगमा भने हिमपातसमेत भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने सम्भावना छ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका केही स्थानसहित अन्य प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि सुदूरपश्चिमसहित पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिकदेखि सामान्यतया सफा मौसम रहने अनुमान गरिएको छ।

महाशाखाले वर्षा, चट्याङ र हिमपातका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Comment