नेपाली काँग्रेसका नेतामाथि श्रृंखलाबद्ध आक्रमण: उपसभापति यादवद्वारा घोर निन्दा

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 2 मिनेट

२१ जेठ्,बारा: नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले पछिल्ला दिनहरूमा काँग्रेस नेताहरूमाथि भएको श्रृंखलाबद्ध आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै ती घटनाको घोर निन्दा तथा भर्त्सना गरेका छन्।

यादवका अनुसार सर्लाही जिल्लामा नेपाली काँग्रेसका मधेश प्रदेश उपसभापति समेत रहेका प्रदेश संसदीय दलका उपनेता विरेन्द्र सिंह, रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्याशी हरिनन्दन प्रसाद यादवसहित काँग्रेसका समर्पित नेता तथा कार्यकर्तालाई लक्षित गर्दै राजनीतिक प्रतिशोधका नाममा आपराधिक गतिविधिहरू बढेका छन्। कुटपिट, गाडी तोडफोड तथा ज्यान मार्ने प्रयाससम्मका घटना घटिरहेको छ ।

“अपराधी प्रवृत्तिका व्यक्तिहरूद्वारा गरिएको यस प्रकारको सुनियोजित आक्रमणले हामीलाई गम्भीर र चिन्तित बनाएको छ,” यादवले भने। यद्यपि आक्रमणकारीको पहिचान भइसकेको भए पनि स्थानीय प्रहरी प्रशासनले तिनीहरूलाई कानुनी दायरामा ल्याउन असफल भएको आरोप समेत उनले लगाएका छन्।

उपसभापति यादवले प्रहरी प्रशासनमाथि आरोप लगाउँदै अपराधीहरूलाई जोगाउन खोजिएको दाबी गरेका छन्। उनले भने, “कानुनी राज्यमा कानुनको पालना नगर्ने प्रहरी प्रशासनलाई समेत कारवाहीको दायरामा ल्याइनुपर्छ।”

उनले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै सर्लाही जिल्लामा शान्ति सुरक्षा सुनिश्चित गर्न, काँग्रेसका नेता तथा कार्यकर्तालाई सुरक्षा प्रत्याभूति दिन र घटनामा संलग्नलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कारबाही गर्न जोडदार माग गरेका छन्।

यादवले चेतावनी दिँदै भने, “नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामाथिको आक्रमण सह्य हुने छैन। दोषीहरूलाई कारबाही नगरेसम्म नेपाली काँग्रेस मधेश प्रदेश समिति शान्ति सुरक्षाको सुनिश्चितता र न्यायका लागि कडा आन्दोलन गर्न बाध्य हुनेछ।”

उनले सम्भावित आन्दोलनबाट सिर्जित सम्पूर्ण घटनाको जिम्मेवारी प्रहरी प्रशासनले लिनुपर्ने चेतावनी पनि दिएका छन्।

Leave a comment