खोटाङ, ११ चैत । रोजगारीको खोजीमा भारतको हैदरावाद पुगेका खोटाङका एक युवाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको गाडीको ठक्करबाट मृत्यु भएको हो । उनी होटलमा काम गर्नका लागि साथीहरूसँगै चैत २ गते हैदरावाद गएका थिए ।
चैत ५ गते हैदरावाद पुगेका तिलक चैत ६ गते सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनलाई सेकन्दरावादस्थित गान्धी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा चैत ११ गते बिहान उनको मृत्यु भएको हो ।
तिलक गाउँकै सन्तोष परियार र कृष्ण परियारसँगै भारत गएका थिए । उनी निर्वाचन प्रहरीको जिम्मेवारी सकेपछि रोजगारीका लागि हैदरावाद पुगेका थिए ।
आर्थिक अवस्था कमजोर रहेका तिलक घरका दुई छोरामध्ये कान्छा हुन् । उनका पाँच दिदीबहिनी र एक पाँच वर्षीय छोरा छन् ।
उनी हैदरावादतर्फ गएकै दिन उनको घर हावाहुरीले क्षतिग्रस्त भएको बताइएको छ ।
हाल उनको शव अस्पतालमै रहेको छ । पोष्टमार्टम तथा आवश्यक कागजातका लागि करिब ६० हजार भारतीय रुपैयाँ लाग्ने भएकाले आफन्तले आर्थिक सहयोगको अपिल गरेका छन् ।

