इनिशा विक प्रकरण : १९ दिनपछि अनुसन्धान प्रतिवेदन, शव अझै अस्पतालमै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ११ चैत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रहरीले १९ दिनपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीका अनुसार घटनासम्बन्धी सम्पूर्ण अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालयमा पेश गरिएको हो । यद्यपि प्रतिवेदनका विवरणहरू भने सार्वजनिक गरिएको छैन ।

गुर्भाकोट नगरपालिका–६ घर भई वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा गत फागुन २३ गते बिहान ‘विद्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन् । सोही दिन बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेपछि उनलाई कर्णाली प्रदेश अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनालगत्तै प्रहरीले एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो भने भोलिपल्ट थप तीन जना किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । यही कारण पीडित पक्षले दोषीमाथि कारबाही नहुन्जेल शव नबुझ्ने अडान लिएका छन् ।

हाल इनिशाको शव कर्णाली प्रदेश अस्पतालमै राखिएको छ ।

Leave a Comment