सानोठिमी बाल सुधार गृहमा हिंसात्मक झडप, आगजनी र तोडफोड स्थिति नियन्त्रणमा, सुरक्षा सतर्कता बढाइयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

भक्तपुर, ९ माघ। भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृह गएराति हिंसात्मक झडपको केन्द्र बनेको छ। सुधार गृहभित्र रहेका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएपछि परिसर रणमैदानजस्तै देखिएको छ।

शुक्रबार बिहान सुधार गृह परिसर पुग्दा इँटा, ढुंगा र भत्किएका संरचनाका अवशेष यत्रतत्र छरिएका थिए। अवस्था पुनः भड्किन सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यहाँ सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको छ।

झडपको सूचना पाएलगत्तै थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा प्रहरी टोली राति नै सुधार गृह पुगेको थियो। प्रारम्भिक प्रयासबाट स्थिति नियन्त्रणमा लिन नसकिएपछि झडप झनै चर्किएको प्रहरीले जनाएको छ।

झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि सशस्त्र प्रहरी बलका ५० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।

मध्यराततिर आक्रोशित समूहले सुधार गृहभित्र आगजनी गरेपछि भक्तपुर र काठमाडौंबाट दमकल मगाएर आगो निभाइएको थियो।

प्रहरीका अनुसार झडप, आगजनी र तोडफोडबाट भएको क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी छ। हाल अवस्था नियन्त्रणमा आए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुधार गृह वरपर उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

सानोठिमीस्थित बाल सुधार गृहमा हाल १४५ जना पुरुष र २४ जना महिला गरी कुल १६९ जना बालबन्दी रहेका छन्।

Leave a Comment