गृहमन्त्री अर्यालको १९१ दिन: अस्थिरताबाट निर्वाचनसम्मको यात्रा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १३ चैत २०८२ । जेनजी आन्दोलनपछि उत्पन्न अन्योल, त्रास र अस्थिरताबीच गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा गर्दै पदबाट बिदा लिएका छन्। नयाँ सरकार गठनको तयारीसँगै उनी बिहीबार मन्त्रालयबाट विदा भएका हुन्।

उनको कार्यकालको मुख्य उपलब्धिका रूपमा शान्ति–सुरक्षा कायम, सुशासन सुधार र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु रहेको छ। भदौ २३–२४ पछि देशमा कानुनी राज्य कमजोर बनेको, राज्य संयन्त्र निष्क्रिय भएको र नागरिकमा त्रास फैलिएको अवस्था थियो। यस्तो अवस्थामा सरकारले पहिलो प्राथमिकता रूपमा अवस्थाको सामान्यीकरण र कानुनी शासन पुनःस्थापना गरेको उनले बताएका छन्।

जेनजी आन्दोलनपछि गठन भएको सरकारले समयमै निर्वाचन सम्पन्न गर्ने मुख्य लक्ष्य लिएको थियो। सुरक्षा चुनौती, नागरिकको अविश्वास र अव्यवस्थाबीच पनि सरकारले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सफल भएको उनको दाबी छ।

कार्यकालका क्रममा आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरिएको छ। सहिदहरूको सम्मानमा स्मारक निर्माण, परिवारलाई राहत, घाइतेलाई परिचयपत्र तथा मासिक भत्ताको व्यवस्था गरिएको छ। साथै, जेनजी परिषद् गठनको प्रक्रिया पनि अघि बढाइएको छ, जसले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने उद्देश्य राखेको छ।

सुरक्षा संरचनातर्फ ४६५ भन्दा बढी युनिट, प्रहरी चौकी तथा प्रशासनिक संरचनाको पुनर्निर्माण गरिएको छ। साथै, नेतृत्व शैलीमा परिवर्तन गर्दै समन्वय र सामूहिक नेतृत्वलाई प्राथमिकता दिइएको छ, जसले सुरक्षाकर्मीको मनोबल बढाउन मद्दत पुगेको बताइएको छ।

प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ६५ लाखभन्दा बढी एसएमएसमार्फत अर्ली वार्निङ प्रणाली लागू गरिएको थियो। यसले जोखिम न्यूनीकरण र सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको छ।

त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याइनु, नागरिकता नियमावली जारी गरी हजारौँ नागरिकलाई सेवा प्रदान गर्नु तथा मिटरब्याजपीडितको समस्या समाधानतर्फ पहल गर्नु पनि कार्यकालका महत्वपूर्ण उपलब्धि मानिएका छन्।

गृहमन्त्री अर्यालका अनुसार अब सरकार र नागरिकबीचको सम्बन्ध परिवर्तन हुन आवश्यक छ। सरकार शासक नभई सहजीकरण गर्ने निकायका रूपमा स्थापित हुनुपर्ने र जेनजी पुस्तालाई राज्यका सबै क्षेत्रमा सक्रिय रूपमा समावेश गर्नुपर्ने उनले जोड दिएका छन्।

२०८२ भदौ ३० गते गृहमन्त्री नियुक्त भएका अर्यालले आफ्नो कार्यकालमा सुशासन, सुरक्षा र सेवा प्रवाहमा सुधार ल्याउने प्रयास गरेको बताएका छन्।

Leave a Comment