१४ चैत, काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएर काठमाडौं प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गर्दै अहिले परिसर ल्याउने प्रक्रिया भइरहेको बताएका छन्।
नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सुरक्षा निकाय सक्रिय भएको हो। त्यसपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग लगातार छलफल गरेका थिए।
प्रहरीले सुरुमा लिखित आदेश मागेपछि कानुन मन्त्रालयका सचिवलाई राति नै प्रहरी मुख्यालय बोलाइएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै पक्राउ पुर्जी जारी गरिएको हो।
जाँचबुझ आयोगले जेनजी आन्दोलन दमन प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङविरुद्ध फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो।
उक्त सिफारिसअनुसार मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

