ओली पक्राउविरुद्ध एमाले सडकमा, माइतीघरमा तनाव

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१४ चैत, काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ भएपछि नेकपा एमालेले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

एमालेका नेता–कार्यकर्ता दिउँसो साढे २ बजे माइतीघरमा भेला भएर विरोध सुरु गरेका थिए। पार्टीले ३ बजे सार्वजनिक प्रदर्शनको निर्देशन दिएको थियो। प्रदर्शनकारीले सरकारको कदमलाई प्रतिशोधपूर्ण भन्दै विरोध प्रकट गरेका थिए।

प्रदर्शनको क्रममा केही प्रदर्शनकारीले ढुंगा प्रहार र टायर बाल्ने प्रयास गरेका थिए। तर, प्रहरीले आगो निभाउँदै तत्काल नियन्त्रण गरेको थियो। केही समयपछि प्रहरीले लाठ्ठी चार्ज गरी माइतीघर–बबरमहल–विजुलीबजार क्षेत्रमा तनाव नियन्त्रणमा लिएको थियो।

प्रदर्शनको क्रममा बबरमहलबाट सिंहदरबारतर्फ जाने क्रममा प्रहरीले सात जना एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, निषेधित क्षेत्रमा पुगेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

एमालेका प्रतिनिधिहरूले भने, यदि अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकको रिहाइ नभए थप आन्दोलन गरिने छ। एमालेका युवासंघका प्रवक्ता निरोज पौडेलले भने, “भोली पनि प्रदर्शन जारी रहनेछ। सरकारले प्रतिशोधका लागि अध्यक्षलाई पक्राउ गरेको हो।”

अध्यक्ष ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ भने लेखकलाई २ नम्बर गण महाराजगञ्जमा राखिएको छ।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दमन गर्ने दोषी ठहर गरेको थियो। सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै पक्राउ गरेको दाबी गरेको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने, “हामीले कुनै व्यक्ति विशेषलाई मात्र पक्राउ गरेको होइन, आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा यो कदम चालिएको हो।”

एमालेले अब चरणबद्ध आन्दोलनका कार्यक्रम जारी गर्ने र कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने तयारी गरेको जनाएको छ।

Leave a Comment