काठमाडौँ, वैशाख १ – प्रधानमन्त्रीका रूपमा चर्चित बालेन्द्र शाह (बालेन) ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपाली नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले प्रसिद्ध संस्कृत श्लोक उद्धृत गर्दै सबैको सुस्वास्थ्य र कल्याणको कामना गरेका हुन्।
उनले लेखेका छन् —
“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत् ॥”
उक्त श्लोकको भावार्थ स्पष्ट पार्दै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याण फैलियोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
बालेनले भनेका छन्, “सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्। नयाँ वर्ष २०८३ को यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।”
नयाँ वर्षको पहिलो दिन आज देशभर तथा विदेशमा रहेका नेपालीहरूलाई विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत शुभकामना दिने क्रम जारी रहेको छ। सोही सन्दर्भमा बालेन्द्र शाहले पनि सबैको भलाइको कामना गरेका हुन्।

