टुँडिखेलमा गणतन्त्र दिवस विशेष समारोह, प्रधानमन्त्रीले तोडे पुरानो परम्परा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : देशभर आज १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। राजधानीको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह लगायत उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
गणतन्त्र दिवसको अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आकर्षक मार्चपास तथा कवाज प्रदर्शन गरेका थिए। समारोह सुरु हुनुअघि बिहानै नेपाली सेनाले गणतन्त्र दिवसको सम्मानमा तोप पड्काएको थियो।
यस वर्षको समारोहको मुख्य विशेषता भने प्रधानमन्त्रीबाट सम्बोधन नहुनु बन्यो। विगतका वर्षहरूमा गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो। तर यसपटक प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने भएपछि समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गरेका हुन्।
राष्ट्रपतिले आफ्नो सम्बोधनमा गणतन्त्र स्थापनाका लागि भएका संघर्ष, लोकतान्त्रिक उपलब्धि तथा राष्ट्रिय एकताको आवश्यकता बारे चर्चा गरेका थिए। उनले संविधानको संरक्षण, सुशासन र विकासमार्फत जनताको विश्वास अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
२०६५ साल जेठ १५ गते तत्कालीन संविधानसभाले राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ। यस वर्ष पनि देशका विभिन्न स्थानमा प्रभातफेरी, सांस्कृतिक कार्यक्रम, दीप प्रज्वलन र औपचारिक समारोह आयोजना गरिएको छ।

Leave a Comment