१७ चैत,काठमाडौ-नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र नेता शेखर कोइरालाको समूह आज धुम्बाराहीस्थित स्मार्ट होटलमा बैठक बस्दैछ। दिउँसो १ बजे सुरु हुने यस बैठकमा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका नेताहरू सहभागी हुनेछन्।
कोइरालाले बैठकअघि आफ्ना पक्षीय नेतासँग छुट्टै छलफल पनि गरेका छन्। बैठकको एजेन्डामा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारको गतिविधि, हालका चुनावी नतिजा, साथै आगामी १५ औँ महाधिवेशनको तयारीसम्बन्धी विषयहरू छलफल हुने राष्ट्रीयसभा सदस्य जितजंग बस्नेतले बताए।
गत पुस १८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले वैशाख २८–३१ का लागि नियमित महाधिवेशनको कार्यक्रम तय गरेको थियो। तर पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई भंग गर्दै गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।
निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा र कोइराला समूह पार्टीको राजनीतिक गतिविधिबाट किनारामा परेका छन्। तथापि, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिकै रूपमा राजनीतिक गतिविधि जारी राखेका छन्।
बैठकपछि देउवा–कोइराला पक्षले चैत १९ गते प्रदेश सभापति र जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी गरेको छ। बस्नेतका अनुसार, “सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता सम्बन्धी फैसला नआएसम्म पार्टीका गतिविधिहरू यसरी अघि बढ्नेछन्।”
कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा चैत २२ गते तय गरिएको छ।

