काठमाडौं, १५ माघ – सरकारले नेपाल प्रहरीका कर्मचारीका लागि रासन बापत दिइने रकम बढाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकको निर्णय सार्वजनिक गर्दै आगामी फागुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र दैनिक भत्ता वृद्धि गर्ने निर्णय भएको जानकारी दिए।
उनका अनुसार प्रहरी संगठनभित्र कार्यरत जनशक्तिको दैनिकी सहज बनाउन यो निर्णय गरिएको हो। तर, कति रकम वृद्धि गरिएको छ भन्ने विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।
सरकारले सुरक्षा निकायको मनोबल उच्च राख्ने र सेवासुविधामा सुधार गर्ने उद्देश्यले यो कदम चालेको बुझिएको छ।

