सरकारी वकिल कार्यालयमा रमेश लेखकको बयान सुर

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, चैत १८ — पूर्वगृहमन्त्री रमेश लेखकको बयान काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा सुरु भएको छ। महाराजगन्जस्थित २ नम्बर गणको हिरासतमा रहेका उनलाई बुधबार बयानका लागि उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

जेनजी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिएको आरोपमा जाँचबुझ आयोगले लेखकसहित तीन जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गत चैत १४ गते पक्राउ गरिएको थियो। प्रहरीका अनुसार लेखकको बयान सकिएपछि मात्रै ओलीको बयान सुरु गरिनेछ।

उक्त घटनामा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला अदालत काठमाडौँबाट पहिलोपटक पाँच दिनको म्याद थप गरिएको थियो, जुन बुधबार सकिँदैछ। थप अनुसन्धानका लागि प्रहरीले पुनः अदालतबाट म्याद थप गर्नुपर्ने अवस्था रहेको छ।

यसबीच ओली अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्य अवस्थाका कारण उनलाई अदालतमा उपस्थित गराउन नसकिएपछि भिडियो कलमार्फत सुनुवाइ गरिएको थियो।

यसअघि जाँचबुझ आयोगसमक्ष दिइएको बयानमा लेखकले आफूले गोली प्रहार गर्न आदेश नदिएको स्पष्ट पारेका छन्। उनले गृहमन्त्रीको हैसियतमा शान्ति सुरक्षा कायम गर्न नीतिगत निर्देशन, समन्वय र सहजीकरण मात्र गरेको र प्रत्यक्ष रूपमा बल प्रयोग गर्ने आदेश नदिएको बताएका छन्। उनका अनुसार बल प्रयोगको निर्णय स्थलगत परिस्थितिअनुसार सम्बन्धित अधिकारीहरूले गर्ने विषय हो।

लेखकले आन्दोलनअघि सुरक्षा अवस्था सामान्य रहेको जानकारी पाएको, शान्तिपूर्ण प्रदर्शन हुने अपेक्षा गरिएको र सम्भावित हिंसाबारे ठोस सूचना नआएको उल्लेख गरेका छन्। उनले सुरक्षा निकायलाई हताहती नहोस् भन्ने निर्देशन दिएको दाबी पनि गरेका छन्।

घटनाका क्रममा गोली चलेर मानवीय क्षति भएपछि आफू अत्यन्त मर्माहत भएको र नैतिक जिम्मेवारीस्वरूप गृहमन्त्री पदबाट राजीनामा दिएको उनले बताएका छन्। साथै, घटनामा घुसपैठ भई आन्दोलन हिंसात्मक बनेको उनको दाबी छ।

Leave a Comment