काठमाडौं -६ असोज ।
नेपालीहरुको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । असोज शुक्ल प्रतिपदाका दिन घटस्थापनासँगै नवरात्र प्रारम्भ हुने परम्परा रहिआएको छ । आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौ छरेर जमरा राखिएको छ ।
घटस्थापनाको दिन पूजा कोठा वा दशैं घरलाई गोबरले लिपपोत गरी पवित्र माटो अथवा बालुवामाथि जौ छरिन्छ । दुर्गा देवीको प्रिय वस्तुका रूपमा मानिने जौ विजया दशमीका दिन पहेँलो जमरा बनेर टीका प्रसादसँगै ग्रहण गरिन्छ । नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार “जौबाहेक अन्य अन्नबालीको जमरा राख्ने शास्त्रीय विधि छैन।”
घटस्थापनादेखि विजया दशमीसम्मको नवरात्र अवधिभर देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको आराधना गरिन्छ ।
यस अवधिमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरू—नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवीलगायतमा पूजाआराधना गर्ने भक्तजनहरूको भीड लाग्ने गर्दछ । महाअष्टमी र महानवमीमा बलिपूजा गर्ने चलन छ भने सातौं दिन फूलपाती भित्र्याइन्छ ।
धर्मशास्त्रविद्हरूका अनुसार दशैं पर्व सत्यको असत्यमाथि विजय र दैवी शक्तिको आसुरी शक्तिमाथि जितको प्रतीक हो । कुनै जात वा धर्म विशेषको पर्व नभई सम्पूर्ण मानव कल्याणका लागि देवी शक्तिको पूजा गर्ने उत्सवका रूपमा यो पर्वलाई मानिन्छ ।
यस वर्ष विजया दशमी र टीका असोज १६ गते परेको छ ।



Leave a Reply