काठमाडौं, चैत १९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने लगभग निश्चित भएको छ। रास्वपाको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
पार्टी सभापति रवि लामिछानेले उनको नाम प्रस्ताव गरेका थिए, जसलाई बैठकले समर्थन गरेको हो। प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत रहेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना उच्च देखिएको छ।
सभामुख चयनका लागि संसद् सचिवालयले शुक्रबार मनोनयन दर्ता र आइतबार निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ। सोही अनुसार अर्याल आइतबारदेखि सभामुख बन्नेछन्।
यसअघि सरकार गठनको क्रममा अर्यालले गृहमन्त्री बन्ने इच्छा व्यक्त गरेका थिए। तर सुधन गुरुङ गृहमन्त्री बन्ने निश्चित भएपछि रास्वपाले उनलाई सभामुख बनाउने निर्णय गरेको हो।
अर्याल रास्वपा सभापति रवि लामिछानेका निकट सहयोगी मानिन्छन्। पार्टी स्थापना अघि नै उनी लामिछानेसँग नजिक थिए। अघिल्लो संसद्मा समानुपातिक सांसद बनेका अर्यालले रास्वपा सरकारमा रहँदा दुई पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
२०७९ सालमा रास्वपा गठन भएसँगै सक्रिय राजनीतिमा आएका अर्याल काठमाडौं–९ बाट निर्वाचित भएका हुन्। उनी यसअघि वैदेशिक रोजगारी, पर्यटन, शिक्षा र रेमिट्यान्स क्षेत्रमा समेत संलग्न थिए।
अब सभामुखका रूपमा उनले संसद् सञ्चालन, बैठक आह्वान, समिति गठन र संसद् सचिवालयको प्रशासनिक कामकाज सम्हाल्नेछन्। सभामुखले सामान्य अवस्थामा मतदान गर्न पाउँदैनन्, तर बराबरी मत भएको अवस्थामा निर्णायक मत दिने अधिकार हुन्छ।

