समस्याग्रस्त अम्बे कोशी सहकारीले साना बचतकर्ताको रकम फिर्ता गर्न थाल्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

३० चैत, विराटनगर । इटहरीस्थित समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ।

कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार रुपैयाँभन्दा कम बचत भएका सदस्यहरूलाई प्राथमिकतामा राख्दै रकम फिर्ता प्रक्रिया अघि बढाएको हो। समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार २८७ जना साना बचतकर्ताको कुल २८ लाख ५७ हजार रुपैयाँ उनीहरूको बैंक खातामा जम्मा गरिएको छ।

समितिले सहकारीबाट लगानी गरिएको ऋणमध्ये हालसम्म १ करोड ८७ लाख रुपैयाँ असुल गरिसकेको जनाएको छ। सहकारीले असुल गर्न बाँकी ऋण भने ४२ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेको छ। यस्तै, बचत फिर्ताका लागि २४ करोड ८८ लाख रुपैयाँ बराबरको निवेदन परेको छ।

समिति सदस्य जीवन काफ्लेका अनुसार ऋणीहरूबाट रकम असुली गर्ने प्रक्रिया जारी रहेको छ। २० हजार रुपैयाँसम्मको बचत फिर्ता गरेपछि अब १ लाख रुपैयाँसम्मका बचतकर्तालाई रकम फिर्ता गर्ने तयारी भइरहेको उनले बताए।

यदि ऋण असुलीबाट पर्याप्त रकम संकलन नभएमा सहकारी र सञ्चालकहरूको सम्पत्ति लिलाम गरी बचत फिर्ता गरिने पनि समितिले जनाएको छ।

कोशी प्रदेश सरकारले २०८१ पुस २३ गते उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यसपछि सरकारी समितिले व्यवस्थापन, ऋण असुली तथा धितो लिलाम प्रक्रिया अघि बढाएको हो।

प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले प्रदेश सरकारको पहलमा पहिलो पटक यस प्रकारको बचत फिर्ता कार्य सुरु भएको बताए। उनले पहिलो चरणमा २० हजार रुपैयाँसम्म र त्यसपछि क्रमशः १ लाख रुपैयाँसम्मको बचत फिर्ता गरिने जानकारी दिए।

Leave a Comment