ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिट खारेज, म्याद नथप्न सर्वोच्चको आदेश

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, चैत २३ — सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक सम्बन्धी बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ।

अदालतले उनीहरूलाई तत्काल थुनामुक्त गर्न अस्वीकार गर्दै अब थप म्याद नथप्न परमादेश जारी गरेको छ। अदालतका सूचना अधिकारीका अनुसार चैत २६ गतेभित्र अनुसन्धान टुंग्याएर मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न निर्देशन दिइएको छ।

यदि सो अवधिभित्र मुद्दा नचल्ने भए प्रक्रिया पूरा गरी दुवैलाई थुनामुक्त गरेर अनुसन्धानलाई अगाडि बढाउनुपर्ने आदेशमा उल्लेख छ।

यसअघि काठमाडौँ जिल्ला अदालतले चैत २१ गतेदेखि लागू हुने गरी तेस्रो पटक ५ दिनको म्याद थप गरेको थियो। तर सर्वोच्च अदालतले अब सो म्यादपछि थप म्याद नथप्न स्पष्ट आदेश दिएको हो।

भदौ २३ मा भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको आरोपमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ। सोही घटनासम्बन्धी ज्यान मुद्दामा चैत १४ गते दुवैलाई पक्राउ गरी हिरासतमा राखिएको थियो।

Leave a Comment