मेयर बालेनको राजीनामा : महानगरमा औपचारिक बिदाइ भएन, राजनीतिक वृत्तमा तरंग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, माघ ४, २०८२ (आइतबार)
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। दिनभर महानगरपालिकामा उनको औपचारिक बिदाइको तयारी भए पनि मेयर स्वयं कार्यालय नपुगेपछि कार्यक्रम भने स्थगित हुन पुग्यो।

४ माघमै राजीनामा दिएर घण्टीघर जाने र त्यसपछि ५ माघमा जनकपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घोषणासभा सम्बोधन गर्ने पूर्वयोजना अनुसार महानगरले आन्तरिक तयारी गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, उपमेयर सुनिता डंगोललगायत पदाधिकारी बिहानदेखि नै बिदाइको प्रतीक्षामा थिए।

तर, मेयर बालेन दिनभर कार्यालय नआएपछि बिदाइ कार्यक्रम हुन सकेन। पछि सचिवालयमार्फत उपमेयर डंगोलसमक्ष राजीनामा बुझाइएपछि महानगरले वारेसमार्फत राजीनामा लिन बाध्य भयो।

राजीनामा किन रोकियो, किन फेरि दिइयो ?

बालेन निकट स्रोतका अनुसार कांग्रेस पक्ष अदालत गएको अवस्था, निर्वाचन तालिका प्रभावित हुन सक्ने अनुमान र उम्मेदवारी दर्तापछि मेयर पद स्वतः खारेज हुन सक्ने कानुनी सल्लाहका कारण राजीनामा तत्काल नदिने सोच बनेको थियो। यही कारण केही समय राजीनामा ‘होल्ड’ भएको बताइन्छ।

तर, थप राजनीतिक तथा कानुनी सल्लाहपछि बालेनले पुनः राजीनामा दिने निर्णय गरेका थिए।

घण्टीघरमा राजनीतिक सन्देश

राजीनामा दिएपछि बालेन शाह जेनजी अगुवा सुदन गुरुङको गाडीमा घण्टीघर पुगे। त्यहाँ रास्वपा सभापति रवि लामिछानेसँगै उभिएर घण्टीघर अगाडि राखिएको घण्टी बजाउँदै उनले नयाँ राजनीतिक यात्राको संकेत दिएका छन्। महानगरबाट औपचारिक बिदाइ नपाए पनि घण्टीघरमा भने उनलाई राजनीतिक स्वागत गरिएको देखियो।

बाकी समाचार संक्षेपमा

🔹 महानगरको नेतृत्व कसले सम्हाल्ने ?

मेयरको राजीनामापछि अब काठमाडौं महानगरपालिकाको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय चासोको केन्द्रमा छ। कानुनी प्रावधानअनुसार उपमेयर सुनिता डंगोलले कार्यवाहक मेयरको भूमिका निर्वाह गर्ने सम्भावना देखिएको छ।

🔹 रास्वपाको तयारी तीव्र

बालेनको राजीनामापछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र राजनीतिक गतिविधि थप तीव्र बनेको छ। जनकपुर घोषणासभालाई पार्टीले शक्ति प्रदर्शनको रूपमा लिने तयारी गरेको छ।

🔹 महानगर कर्मचारीमा मिश्रित प्रतिक्रिया

मेयरको अप्रत्याशित शैलीमा भएको राजीनामाले महानगरका कर्मचारीहरूमा निराशा र आश्चर्य दुवै देखिएको छ। ‘दिनभर बिदाइका लागि कुर्दा पनि अन्तिममा कार्यक्रम नै हुन सकेन,’ एक कर्मचारीले प्रतिक्रिया दिए।

Leave a Comment