मधेश प्रदेशमा ६ जनामा डेंगु पुष्टि, देशभर ४१३ नयाँ संक्रमित

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कलैया, असोज २७ — पछिल्लो साताभित्र देशभर ४१३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । तीमध्ये मधेश प्रदेशमा ६ जनामा नयाँ संक्रमण फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) ले जनाएको छ।

सन् २०२५ को सुरुदेखि हालसम्म देशभर ५ हजार ८७४ जनामा डेंगु पुष्टि भइसकेको छ । हालसम्म ७५ जिल्लामा संक्रमण फैलिँदा ४ जनाको मृत्यु भएको छ। पछिल्लो साता सबैभन्दा धेरै गण्डकी प्रदेशमा १५१ जना नयाँ संक्रमित भेटिएका छन्।

मधेश प्रदेशमा यस वर्ष पनि विभिन्न जिल्लामा डेंगुका बिरामी भेटिन थालेका छन् । स्वास्थ्य कार्यालयहरूका अनुसार विशेषगरी तराईका शहरी क्षेत्रमा पानी जम्ने वातावरण, फोहर व्यवस्थापनको अभाव र लामो बर्खाका कारण संक्रमण बढ्ने जोखिम उच्च छ ।

जनस्वास्थ्यविद्हरूका अनुसार डेंगु एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस नामक लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यी लामखुट्टे प्रायः बिहान र बेलुकीको समयमा टोक्ने गर्छन् । पानी जम्ने ठाउँ — टायर, गमलाका प्लेट, कन्टेनर वा खुला ड्रमहरू — यसको प्रजनन स्थल हुन्।

लक्षण र सावधानी
संक्रमित व्यक्तिमा ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांसपेसी र हड्डी दुख्ने, शरीरमा राता दानाहरू देखिनेजस्ता लक्षण देखिन्छन् । ज्वरो घटेपछि ७२ घण्टासम्म ‘क्रिटिकल फेज’ मानिन्छ , जसमा जटिलता हुने सम्भावना बढी हुन्छ ।

डेंगुबाट बच्नका लागि पूरा शरीर ढाक्ने लुगा लगाउने, साँझ–बिहान बाहिर ननिस्कने, झ्याल–ढोकामा जाली हाल्ने, झुलमा सुत्ने, धुप वा कीटनाशक प्रयोग गर्ने र पानी जम्ने स्थान सफा राख्ने सल्लाह दिइएको छ ।

विशेषगरी बालबालिका, बृद्ध र दीर्घरोगी (जस्तै मधुमेह वा उच्च रक्तचाप भएका) व्यक्तिहरू बढी जोखिममा पर्ने भएकाले विशेष सतर्कता अपनाउन जनस्वास्थ्य विज्ञहरूको आग्रह छ ।

Leave a comment