काठमाडौँ, वैशाख २ — देशभर आजदेखि दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणनाका लागि खटिएका गणक तथा सुपरीवेक्षकहरू आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन्।
कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलन आगामी असारको पहिलो सातासम्म सम्पन्न गरिनेछ। यसका लागि करिब ५ हजार जनशक्ति परिचालन गरिएको छ।
औद्योगिक तथा समग्र आर्थिक अवस्थाको यथार्थ चित्रणका लागि यो गणना महत्वपूर्ण हुने भन्दै सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
गणनामा उद्योग, व्यापार, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थानसहित आर्थिक गतिविधिसँग सम्बन्धित १८ वटा शीर्षकमा विवरण सङ्कलन गरिनेछ। यस क्रममा ठूला–साना व्यापारिक प्रतिष्ठान, रोजगारी सिर्जना गर्ने संस्था, उद्योग–कलकारखाना, गैरसरकारी संस्था, विद्यालय, अस्पताललगायतको अवस्था समेटिनेछ।
यसअघि आवश्यक पूर्वतयारी फागुनमै सम्पन्न गरिएको थियो भने चैतदेखि देशभर ८४ वटा गणना कार्यालय सञ्चालनमा ल्याइएको छ। यी कार्यालय असार मसान्तसम्म सक्रिय रहनेछन्।
यसअघि २०७५ सालमा गरिएको आर्थिक गणनामा देशभर ९ लाखभन्दा बढी व्यवसाय तथा प्रतिष्ठान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। नयाँ गणनाले मुलुकको वर्तमान आर्थिक अवस्था झनै स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

