प्रभु साहको चेतावनी : शान्ति प्रक्रियाको हत्या गरिएको छ, जनताबाट तेस्रो जनआन्दोलनको माग भएको कुरा हेक्का रहोस

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 112
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, ३० साउन : आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति प्रक्रियालाई हत्या गरिएको कडा टिप्पणी गरेका छन् ।

उनले जनताले तेस्रो जनआन्दोलनको माग गरेको भन्दै ठूला दलका ठूला नेताहरुलाई हेक्का रहोस भन्दै कडा चेतावनी दिए ।

आज (बुधबार) ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऎन २०७१ लाई संशोधन गर्न बनेको विधेयक को प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद साहले यस्तो चेतावनी दिएका हुन् ।

उनलवे भने,‘संक्रमणकालिन न्यायसम्बन्धी यो विधेयक ढिलै आएपनि राष्ट्रिय सहमतिको साथ आएको छ । म स्वागत गर्न चाहन्छु । र, यसको इमानदारितापूर्वक कार्यान्वयन होस भनेर माग गर्न चाहन्छु ।’

उनले शान्ति भन्नेबित्तिकै न्याय र समानतासँग जोडिने विषय भएकोले अहिले नेपालमा व्यवहारमा त्यस्तो नपाईएको गुनासो पोखे । उनले भने,‘शान्ति भन्नेबित्तिकै न्याय र समानतासँग सम्बन्धित हुन्छ । यदि समाजमा न्याय र समानता भएन भने शान्ति हुनैसक्दैन् । जहाँ अन्याय छ, विभेद छ, उत्पीडन छ त्यहाँ शान्तिको परिकल्पना गर्न सकिन्न ।

साहले अहिले देशमा लोकतन्त्र नै नभएको टिप्पणी गरे । उनले प्रश्न गरे, ‘अहिले देशमा लोकतन्त्र कहाँ छ ?

शान्ति प्रक्रियाकै मूल सार वा आत्मा भनेको नै राजनीतिक मुद्दा भएकोमा त्यसलाई हत्या गरिएकोमा पनि उनले आक्रोश पोखे । उनले भने, ‘राजनीतिक मुद्दालाई हत्या गरेर अनि शान्ति प्रक्रियालाई हामीले अगाडि बढायौं भनेर हुन्छ ?