२९ मंसिर ,काठमाडौं : काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको फाइनल समीकरण तय भएको छ। भारतको इस्ट बङ्गाल एफसी र नेपाल एपिएफ क्लबले फाइनल यात्रा पक्का गरेका हुन्।
आइतबार भएको खेलमा इस्ट बङ्गालले बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गर्यो। यससँगै इस्ट बङ्गाल अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो।
नासरिनमाथिको जितमा इस्ट बङ्गालका स्ट्राइकर फाजिला इक्वापुटले शानदार प्रदर्शन गर्दै एक्लैले पाँच गोल गरिन्। साथै, ज्योती चोहान र सुलन्जना राउलले एक–एक गोल थपे।
यसअघि आइतबार नै भएको अर्को खेलमा एपिएफ क्लबले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० ले हरायो। एपिएफका लागि रश्मिकुमारी घिसिङले दोस्रो हाफको ५२औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन्। यो जितसँगै एपिएफले तीन खेलबाट दुई जित र एक बराबरीसहित सात अंक जोड्दै दोस्रो स्थान सुरक्षित गर्यो।
नासरिन भने तीन खेलमध्ये दुईमा हार र एकमा बराबरी खेलेपछि फाइनलको दौडबाट बाहिरियो। कराँची सिटी पनि लगातार हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ।
लगातार तीन खेल जितेको इस्ट बङ्गालले नौ अंक जोडेको छ भने एपिएफ दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो। लिग चरणको अन्तिम खेलमा एपिएफ र इस्ट बङ्गाल बुधबार एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन्।
साफले पहिलो पटक आयोजना गरेको महिला क्लब च्याम्पियनसिपमा पाँच सदस्य राष्ट्रका लिग च्याम्पियन टोलीहरूको सहभागिता रहेको छ। सिङ्गल राउन्ड रोबिन प्रणालीमा भएको प्रतियोगिताको फाइनल खेल शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।


