अमेरिकासँग पराजित भयो नेपाल, लिग–२ मा सातौँ स्थानमा झर्‍यो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

९ कात्तिक २०८२, आइतबार | काठमाडौँ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।

आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.१ ओभरमा १५६ रनमै समेटियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रन, आसिफ शेखले ३७ रन, भीम सार्कीले २९ रन, आरिफ शेखले २० रन र सोमपाल कामीले ११ रनको योगदान दिए।

अमेरिकाका बलर हर्मित सिंह उत्कृष्ट प्रदर्शन गर्दै ८.१ ओभरमा एक मेडनसहित मात्र २७ रन खर्चेर ६ विकेट लिए। शुभम रञ्जनेले दुई तथा रुशिल उगारकरले एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २६२ रनको योगफल तयार पारेको थियो।

अमेरिकाका लागि स्मिथ पटेलले १०० बलमा ९ चौका प्रहार गर्दै ७५ रन बनाए भने मिलान्ड कुमारले ५० बलमा ६ चौका र २ छक्कासहित अविजित ७० रनको योगदान दिए। त्यसैगरी साइतेजा मुक्कामल्लाले ४२ रन, शुभम रञ्जनेले १९ रन, आन्द्रियस गौस र शयान जहाँगिरले समान ११ रन तथा कप्तान मोनंक पटेलले १० रन बनाए।

नेपालका बलर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट झारे।

यो हारसँगै नेपालले १७ खेलमा १२ अंक जोड्दै लिग–२ को अंकतालिकामा सातौँ स्थानमा झरेको छ। अमेरिकाले भने २१ खेलमा ३० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

Leave a comment