काठमाडौं, वैशाख १३ — पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण आइतबार देशभर मौसम बदली भई वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा बदली रहेको छ भने हिमाली तथा पहाडी क्षेत्रमा मौसम बढी प्रभावित देखिएको छ। केही स्थानमा मध्यम वर्षा र हिमपातसमेत भइरहेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने आंशिक रूपमा मौसम खुला रहेको छ।
दिउँसोतिर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। यी प्रदेशका केही स्थानसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।
रातिको समयमा पनि हिमाली तथा पहाडी क्षेत्रमा बदली कायम रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशीदेखि सुदूरपश्चिमसम्मका हिमाली भेगमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ।
यसैबीच, देशका अधिकांश भागमा तापक्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई तथा उपत्यकामा गर्मी बढ्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।
पश्चिमी वायु सक्रिय: देशभर बदली, चट्याङसहित वर्षाको चेतावनी
Leave a Comment
Leave a Comment

