नयाँ संसद भवनमा बजेट भाषण गर्ने तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

संघीय संसदको आगामी वर्षे (बजेट) अधिवेशन वैशाख २८ गतेबाट सुरु हुने भएको छ। यस अधिवेशनमा नयाँ संसद भवनबाटै बजेट भाषण गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ।
संसद सचिवालयका अनुसार अधिवेशनका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको छ। प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद भवन पूर्णरूपमा सम्पन्न नभए पनि जेठ १५ सम्म प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न सकिने गरी निर्माण कार्य अघि बढाइएको छ।
हाल भवनको बाहिरी संरचना हटाइसकिएको र आन्तरिक सजावट तथा प्राविधिक काम अन्तिम चरणमा रहेको बताइएको छ। फ्लोरिङ सकिएपछि सिट व्यवस्थापन लगायतका आन्तरिक तयारी सहजै मिलाइने सचिवालयको भनाइ छ। संयुक्त बैठक नयाँ हलमै सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
बजेट अधिवेशन भएकाले सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट यस सत्रका मुख्य कार्यसूची हुनेछन्। प्रारम्भमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (प्रि–बजेट) छलफल हुनेछ भने त्यसपछि राष्ट्रपतिबाट संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।
यस अधिवेशनमा विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलाई प्राथमिकता दिइनेछ। अन्य विधेयक तथा अध्यादेशहरू पनि आवश्यकताअनुसार अघि बढाइने जनाइएको छ।
पहिलो बैठकमा पेश गरिने अध्यादेशहरूलाई ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत कानुनी रूप दिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सो अवधिमा पारित नभए ती अध्यादेश स्वतः निष्क्रिय हुनेछन्।
सचिवालयका अनुसार हाल प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयक र वैकल्पिक वित्त व्यवस्थापनसम्बन्धी एक विधेयक विचाराधीन छन्। राष्ट्रिय सभातर्फ अभौतिक सम्पत्तिसम्बन्धी विधेयक र विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू कार्यसूचीमा रहेका छन्। साथै प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि यस अधिवेशनमा छलफलमा आउनेछ।

Leave a Comment