आइतबार, ४ माघ २०८२
काठमाडौँ
नेपाली कांग्रेसको नेतृत्व गगन थापालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ। रिट दर्ता भएसँगै त्यसको प्रारम्भिक सुनुवाइ माघ ६ गतेका लागि तोकिएको छ।
आइतबार बिहान दायर गरिएको रिट निर्वाचन आयोगको निर्णय बदरको मागसहित दर्ता भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट दर्ता भइसकेको छ र तोकिएको मितिमा पेशी चढाइनेछ।
रिट आज दर्ता भए पनि माघ ५ गते ल्होसारको सार्वजनिक बिदा परेकाले सर्वोच्च अदालत बन्द रहनेछ। यही कारण अदालतले माघ ६ गतेका लागि सुनुवाइ मिति तोकेको हो।
उक्त मितिकै दिन प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ताको समय तोकिएकाले नेपाली कांग्रेसभित्रको विवाद तत्काल समाधान नहुने देखिएको छ। अदालतको निर्णय नआएसम्म पार्टीको आन्तरिक शक्ति सन्तुलन स्पष्ट नहुने संकेत देखिएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अन्य राजनीतिक दलहरू उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेका छन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले अधिकांश क्षेत्रमा उम्मेदवार टुंग्याइसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आज केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
तर नेपाली कांग्रेसमा भने नेतृत्व विवादकै कारण उम्मेदवारी प्रक्रियामा अन्योल देखिएको छ। गगन थापा पक्ष पुरानै सिफारिसका आधारमा उम्मेदवार तय गर्ने तयारीमा रहेको छ भने देउवा पक्ष सर्वोच्च अदालत पुगेपछि उम्मेदवारी दिने वा नदिने विषयमा निर्णय टारिएको बताइएको छ।
पार्टीभित्रको यस विवादको अन्तिम टुंगो अब सर्वोच्च अदालतको आदेशले तय गर्ने राजनीतिक वृत्तमा चर्चा छ।

