काठमाडौं । प्रधानन्यायाधीशमा गरिएको सिफारिसबारे समान धारणा बनाउन नेपाल बार एसोसिएसनको आकस्मिक बैठक शुक्रबार बस्दै छ।
संवैधानिक परिषद्ले गरेको सिफारिसप्रति विभिन्न कोणबाट बहस र असन्तुष्टि देखिएपछि बारले आफ्नो आधिकारिक धारणा तय गर्न बैठक बोलाएको हो। बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् तथा पूर्वपदाधिकारीलाई समेत सहभागी गराई व्यापक छलफल गरिने जनाइएको छ।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार सल्लाहकारहरूको सुझाव र रायका आधारमा बारले आफ्नो धारणा सार्वजनिक गर्नेछ। “सल्लाहकारहरूसँग छलफल गरेर प्राप्त सुझावका आधारमा बारको आधिकारिक निर्णय आउनेछ,” उनले बताए।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले बहुमतका आधारमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। वरीयताक्रममा चौथो स्थानमा रहेका शर्मालाई सिफारिस गरिएको विषयले कानुनी वृत्तमा बहस सिर्जना गरेको छ।
उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै परिषद्का सदस्य राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा उत्पन्न विवादबीच बारको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ, जसले आगामी कानुनी तथा संस्थागत बहसमा प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।
प्रधानन्यायाधीश सिफारिस विवादमा बार सक्रिय, आज आकस्मिक बैठक
Leave a Comment
Leave a Comment



