काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले थप कागजात माग गरेपछि नेपाल प्रहरीअन्तर्गतको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले आवश्यक विवरण पठाइसकेको छ । केही दिनअघि इमेलमार्फत थप कागजात माग गरिएकाले सोहीअनुसार कागजात पठाइएको प्रहरी स्रोतले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले गत २४ चैतमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको हो ।
यसअघि एनसीबीले रेड नोटिसका लागि औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको भए पनि आवश्यक कागजात अपुग भएको भन्दै प्रक्रिया रोकिएको थियो । अहिले थप विवरण पठाइएपछि प्रक्रिया पुनः अघि बढेको जनाइएको छ ।
देउवा दम्पती पक्राउ पुर्जी जारी हुनुअघि नै विदेश गएका थिए । उनीहरू १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए भने त्यसपछि हङकङ पुगेको बताइएको छ । हाल उनीहरू हङकङमै रहेको प्रहरी स्रोतको दाबी छ ।
यदि रेड नोटिस जारी भएमा इन्टरपोलका १९६ सदस्य राष्ट्रका सुरक्षा निकायले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिनेछ ।
देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी, इन्टरपोलमार्फत रेड नोटिस प्रक्रिया अघि
Leave a Comment
Leave a Comment






