काठमाडौं : संघीय संसद्को बजेट अधिवेशन सुरु भएसँगै सरकारले ल्याएका विभिन्न अध्यादेश आज प्रतिनिधिसभामा पेस गर्ने तयारी गरेको छ। प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक खरिदसम्बन्धी, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अध्यादेश पेस गर्नेछन् भने कानुनमन्त्री सोबिता गौतमले विभिन्न नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश संसद्मा दर्ता गराउने तयारी छ।
भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सहकारीसम्बन्धी अध्यादेश, स्वास्थ्य मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश तथा शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐन संशोधन अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
बैठकको सुरुआतमै सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन्। साथै मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी र सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सांसदहरूको मनोनयनसम्बन्धी प्रक्रिया पनि अघि बढाइनेछ।
आजै अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्नेछ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
बजेट अधिवेशनको पहिलो दिन संसद्मा आठ अध्यादेश पेस हुँदै
Leave a Comment
Leave a Comment






