डोटी, १० चैत — डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्ला क्षेत्रमा भएको दुर्घटनामा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना मंगलबार राति करिब साढे १२ बजे भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो।
गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ च ३९२३ नम्बरको बोलेरो जिप घुम्तीबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको हो।
जिप चालकसमेत रहेका सुबोध रोकायाको शव जिपसँगै खोलामा फेला परेको छ। मृतकहरूको शव खोलाबाट सडकसम्म ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

