स्कटल्यान्डको २४३ रन, नेपाललाई २४४ रनको चुनौती

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डबाट २४४ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। त्यस्तै करण केसी र नन्दन यादवले समान दुई–दुई विकेट हात पारे।
घरेलु मैदान र समर्थकको साथ पाएको नेपालका लागि यो खेल लिग–२ को अंकतालिकामा सुधार गर्न महत्त्वपूर्ण मानिएको छ। नेपालले अघिल्लो खेलमा ओमानलाई पराजित गरेको टोलीलाई नै आज पनि निरन्तरता दिएको छ।
कप्तान रोहित पौडेलको नेतृत्वमा नेपालबाट विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन्।
इशान पाण्डेले भने आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युका लागि अझै प्रतीक्षा गर्नुपर्ने भएको छ। उनीसँगै सोमपाल कामी, भीम सार्की र कुशल भुर्तेल पनि प्लेइङ–११ बाहिर रहेका छन्।
हाल लिग–२ को अंकतालिकामा स्कटल्यान्ड २८ खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल २४ खेलबाट १८ अंक जोड्दै सातौं स्थानमा रहेको छ।

Leave a Comment