३३ दलले बुझाए आय–व्यय विवरण, कांग्रेस–एमालेसहित ८९ दल अझै बाँकी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१७ मंसिर, काठमाडौं । गत आर्थिक वर्षको आय–व्यय विवरण निर्वाचन आयोगमा जम्मा गर्ने राजनीतिक दलमध्ये अहिलेसम्म ३३ दलले मात्र विवरण बुझाएका छन्। आयोगमा अद्यावधिक दलहरूको संख्या १२२ रहेकोमा ८९ दलले अझै विवरण पेश गरेका छैनन्

विवरण नबुझाउने दलमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता ठूला दल पनि परेका छन्। दलहरु एकीकृत भएर नयाँ संरचना बने पनि अघिल्लो संरचनामा रहेका दलले अनिवार्य रूपमा विवरण पेस गर्नैपर्ने व्यवस्था छ।

आयोगका अनुसार विवरण बुझाउने दलहरूमा नेपालका लागि नेपाली पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, मधेशी जनअधिकार फोरम मधेश, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेसन, त्रिमूल नेपाललगायतका दल समावेश छन्। साथै जनमोर्चा, बहुजन शक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, प्रगतिशील समाजवादी पार्टीजस्ता दलले पनि विवरण पेश गरिसकेका छन्।

के भन्छ कानुन ?

राजनीतिक दल सम्बन्धी ऐनको दफा ४० अनुसार दलले आफ्नो आय–व्ययको वास्तविक लेखा राख्नुपर्छ, जसलाई विद्युतीय अभिलेखमै राख्न सकिने व्यवस्था छ। त्यस्तै, दफा ४१ अनुसार प्रत्येक दलले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखा परीक्षण गराई, त्यसको प्रतिवेदन एक महिनाभित्र आयोगमा पेश गर्न अनिवार्य छ।

यस हिसाबले, सबै दलले आगामी माघ मसान्तसम्म लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाइसक्नुपर्ने हुन्छ।

समयमै विवरण नबुझाए आयोगले ३५ दिनभित्र स्पष्टीकरण माग्ने अधिकार राख्छ। विवरण बुझाइ सकेका दलको परीक्षण प्रतिवेदन आयोगले बुझाएको मितिबाट एक महिनाभित्र सार्वजनिक गर्नुपर्ने पनि व्यवस्था छ।

Leave a comment